creative

माथिल्लो तामाकोसीको सेयर सम्झौता

काठमाडौ, श्रावण ११ - माथिल्लो तामाकोसी जलविद्युत् (४५६ मेगावाट) को सेयरधनी सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब आयोजनाको सेयरधनीमा विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थान रहेका छन् ।

हालसम्मकै ठूलो जलविद्युत्मा स्वदेशका वित्तीय संस्थाहरूको मात्र स्वामित्व रहेको माथिल्लो तामाकोसी पहिलो आयोजना हो । तामाकोसीबाहेक निर्माण भएका अधिकांश मझौला आयोजनाहरू बहुपक्षीय तथा द्विपक्षीय दातृ निकायको लगानी छ ।

प्राधिकरण केन्द्रीय कार्यालयमा भएको सम्झैताअनुसार तामाकोसीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, बिमा संस्थान र नागरिक लगानी कोषको दुई-दुई प्रतिशत सेयर

हुनेछ । तामाकोसीमा अब कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको २०, दोलखावासी र सर्वसाधारणको दस/दस, तामाकोसी कम्पनी र प्राधिकरणका कर्मचारीको छ र ऋण प्रवाह गर्ने वित्तीय संस्थाका कर्मचारीको ३ प्रतिशत सेयरसम्बन्धी कारबाही टुंगो लाग्न बाँकी छ ।

आयोजनाको लागत ३५ अर्ब २९ करोड रुपैयाँ -निर्माण अवधिको ब्याजबाहेक) मध्ये ३० प्रतिशत सेयरमार्फत जुटाइने वित्तीय संरचना छ । कुल लागतमध्ये आयोजनाले सञ्चय कोषसँग १२ अर्ब, नेपाल टेलिकमबाट ६ अर्ब, बिमा संस्थान र नागरिक लगानीबाट दुई-दुई अर्ब ऋण लिने छ ।

नेपाल सरकारले आयोजनाका लागि ११ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गर्ने निर्णय यसअघि गरिसकेको छ । सरकारले निर्णय गरेलगत्तै दुई अर्ब रुपैयाँ निकासासमेत गरिसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक तथा तामाकोसी लिमिटेडका अध्यक्ष डा. जीवेन्द्र झा र सेयरधनी वित्तीय संस्थाका प्रमुखले सम्झौतामा हस्ताक्षर गरे । टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंह, नागरिक लगानी कोषका कार्यकारी निर्देशक ऋषिराज गौतम, बिमा संस्थानका प्रशासक विनोद अर्यालले सेयर धनी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

दोलखावासीका लागि छुट्टयाइएको दस प्रतिशत सेयर लगानीसम्बन्धी सम्झौताका लागि उपयुक्त संयन्त्र बनाएर प्रस्ताव ल्याउन प्राधिकरणका कार्यकारी निर्देशक डा. झाले अनुरोध गरे । 'स्थानीयवासी (दोलखा) को लगानी कसरी गर्ने उहाँहरूको जिम्मा हो,' उनले भने, 'हामी उहाँहरूलाई संस्थापक लगानीकर्ताका रूपमा आयोजनामा सहभागी गराउन प्रतिबद्ध छौं ।'

सेयरधनी सम्झौतामा नेपाली कांग्रेस, एमाले, एकीकृत माओवादीका सभासद तथा पूर्वसांसद र प्रतिनिधिहरू, तामाकोसी सरोकार समितिका पदाधिकारीहरूको उपस्थिति थियो । डा. झाले प्राधिकरणले तामाकोसीका ऋण लगानीकर्ता संस्थाहरूसित एक साताभित्र ऋण सम्झौता गरिने जानकारी दिए । 'अब धेरै पर्खेर बस्ने समय पटक्कै छैन,' सम्झौतामा हस्ताक्षरपछि झाले भने, 'अब तीन/ चार दिनभित्रै दातृसंस्थाहरूसँग ऋण सम्झौतामा पनि हस्ताक्षर हुनेछ ।'

तामाकोसीमा प्रमुख ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषसँग भने 'केही बुँदा' मा छिनोफानो हुन बाँकी रहेको आयोजना स्रोतले जनाएको छ । कोषले विद्युत् खरिद सम्झौता

-पीपीए) दर वृद्धि हुनुपर्ने, न्यूनतम १५ प्रतिशत प्रतिफल प्राप्त हुनुपर्ने, प्राधिकरणले कर्जा सुरक्षणका लागि थप व्यवस्थाहरू गर्नुपर्ने लगायतका सर्तहरू पेस गरेको छ ।

प्राधिकरण र कोषबीच ती सर्तबारे विभिन्न चरणमा छलफलसमेत भइसकेका छन् । कोषसँग तत्कालीन कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले १० अर्ब ऋण र २ अर्ब डिबेञ्चर लगानी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उत्तरी दोलखामा पर्ने तामाकोसी हालसम्मकै सस्तो आयोजना हो । यसबाट उत्पादित बिजुली प्रतिकिलोवाट एक हजार अमेरिकी डलरको हाराहारीमा पर्छ ।

 

 

तामाकोसीका सेयरधनी

संस्था    प्रतिशत

प्राधिकरण    ४१

नेपाल टेलिकम    ६

बिमा संस्थान    २

नागरिक लगानी कोष    २

सञ्चय कोषका सञ्चयकर्ता    २०

दोलखावासी    १०

सर्वसाधारण    १०

कम्पनी र प्राधिकरणका

कर्मचारी    ६

ऋण प्रदायक

कम्पनीका कर्मचारी    ३

स्रोत:  प्राधिकरण

Other Links

Online Users

0 users and 3 guests online
Please login to be able to chat.

Member Login